नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलद्वारा ‘प्लाज्मा एप’ सञ्‍चालनमा

0
153

काठमाडौं, शुक्रबार, २१ कात्तिक २०७७ । विश्‍वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ‘प्लाज्मा एप’ सञ्‍चालनमा ल्याएका छन् ।

कोरोना भाइरसबाट संक्रमितको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यसाथ गत मंगलबार सार्वजनिक गरिएको ‘प्लाज्मा एप’ ले प्लाज्मा दिन चाहने र लिन चाहनेलाई जोड्ने काम गर्नेछ । प्लाज्मा चाहिएका व्यक्तिलाई सजिलोसँग आवश्यक रक्त समूहको प्लाज्मा उपलब्ध गराउन सकियोस् भन्‍ने उद्देश्यले ‘प्लाज्मा एप’ ल्याएको नेता पौडेलले बताए । ‘प्लाज्मा एप’ मा अहिलेसम्म २६ जनाले प्लाज्मा दान गर्न चाहेको र ११ जनाले लिन चाहेको उनले जानकारी दिए ।

अभियानमा जोडिन चाहनेले ‘प्लाज्मा एप’ डाउनलोड गरेर प्लाज्मा फिचरमा गइ डोनर (दाता) फाराम भर्ने र लिन चाहनेले लिने फाराम भरेर आफूलाई आवश्यक रक्त समूहको प्लाज्मा सहजै पाउने नेता पौडेलको भनाइ छ ।

यसैबीच कांग्रेसका अर्का युवा नेता गगन थापा र उनकी पत्नी डा. अञ्‍जना केसी थापाले ‘प्लाज्मा एप’ मार्फत प्लाज्मा दान गर्ने घोषणा गरेका छन् । केही दिनअघि मात्रै कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका नेता थापाले बिहीबार बेलुकी ट्‌विट गर्दै आफू र पत्नीले प्लाज्मा दान गर्ने घोषणा गरेका हुन् ।

उनले प्लाज्मा दानका लागि नेता पौडेलले कोरोना भाइरसबाट संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ल्याएको एपमा नाम दर्ता गरेको जानकारी दिँदै अभियान सञ्चालन गरेकोप्रति पौडेललाई धन्यवाद पनि दिएका छन् ।

“कोरोना संक्रमित कैयन्‌को उपचारमा प्लाज्मा थेरापी प्रभावकारी देखिएको छ । कोरोना संक्रमणबाट भर्खर मुक्त @anjanakcthapa र मैले पनि प्लाज्मा दान गर्ने सोचले प्लाज्मा एप्समा नाम दर्ता गराएका छौं । यस्तो एप्सको महत्त्वपूर्ण कार्य आरम्भ गर्नुभएकामा @paudelpradipNC लाई धन्यवाद !!” थापाले लेखेका छन् ।