नेपाली चलचित्रले छिट्टै कोल्टे फेर्छ : सञ्चारमन्त्री गुरुङ

0
70

काठमाडौं, शुक्रबार, २८ कात्तिक २०७७ । सञ्चारमन्त्री पार्वत गुरुङले नेपाली चलचित्रले छिट्टै कोल्टे फेर्ने दाबी गरेका छन् । सचिवहरुको टोलीसहित शुक्रबार चलचित्र विकास बोर्ड पुगेका मन्त्री गुरुङले बोर्डको सबै समस्या र बस्तुस्थिति बारे जानकारी लिँदै समस्याहरुको पहिचान गरी क्रमशः समाधान गर्दै जाने बताए । समाजको यथार्थ प्रस्तुत गर्ने चलचित्र क्षेत्र सबैको नजरमा परेको क्षेत्र भएका कारण यसको विकासको लागि कुनै ढिलासुस्ती नगर्ने उनको भनाइ छ ।

नेपाललाई फिल्म सुटिङ्गको लागि केन्द्र र आकर्षण बानाउने गरी काम गर्न मन्त्री गुरुङ्गले बोर्डलाई निर्देशन समेत दिए । कोरोना भाइरसको जोखिम अन्तर्राष्ट्रियस्तरमै हाबी भइरहेकोले यसको प्रभाव नेपाल र फिल्म क्षेत्रमा पनि भएको जिकिर गर्दै यथाशक्य यसको सम्बोधन गरिने र चलचित्र क्षेत्र चलायमान हुने मन्त्री गुरुङ्गले बताए ।

मौलिक चलचित्रलाई प्रोत्साहन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार प्रसार गर्न समेत मन्त्री गुरुङ्गले निर्देशन दिएका छन् । कलाकार र चलचित्र क्षेत्रबाट पनि नेपाललाई समृद्व बनाउन आवश्यक रहेकोले यसलाई सँगसँगै लिएर जानुपर्ने आजको आवश्यकता भएकोमा उनको जोड छ । बोर्डको लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेकोले कति पनि बिचलित नभई काम गर्न बोर्डलाई निर्देशन मन्त्री गुरुङले निर्देशन दिए ।

मन्त्री गुरुङ्गले बोर्डको नवनिर्मित नवरस सभा कक्षको उद्घाटन समेत गरे । बोर्डले बैठक, तालीम र चलचित्र अवलोकन समेत गर्नको लागि साउण्ड प्रुफ गरी ५.१ सराउण्ड साउण्ड सिस्टम, पब्लिक एड्रेसका सामाग्रीहरु सहितको अत्याधुनिक नयाँ नवरस सभा कक्षको निर्माण गरेको हो । उद्घाटनपछि बोर्डले आफ्नो स्थापना, उद्देश्य र अहिलेका रणनीतिहरुको बारेमा जानकारी गराएको छ ।

बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना प्रभावका कारण चलचित्र क्षेत्र शून्य अवस्थामा रहेको प्रष्ट पारे । चलचित्र क्षेत्र शून्य अवस्थामा हुदाँ हजारौं चलचित्रकर्मीहरु बेरोजगार हुनुपरेको भन्दै चलचित्र क्षेत्रलाई विशेष प्याकेजसहित तत्काल सुचारु गर्नुपर्ने हुँदा यसको लागि आवश्यक सहयोग गर्न मन्त्री गुरुङ्ग समक्ष अनुरोध गरेका छन् ।

विदेशी चलचित्रको प्रदर्शनबाट उठ्ने चलचित्र विकास शुल्कबाट नेपाली फिल्मको प्रवद्र्धन र विकास गर्न समस्याहरु देखिएकोले बोर्डको लागि छुट्टै बजेटको व्यवस्था गरिदिन अध्यक्ष दाहालले मन्त्री समक्ष अनुरोध गरेका छन् । नेपाली चलचित्र क्षेत्रको प्रचार प्रसारका लागि विभिन्न देशमा अवैतनिक चलचित्र प्रतिनिधि नियुक्ति गर्नुपर्ने आवश्यकता देखिएको हुँदा मन्त्रालयले सबै प्रक्रिया पूरा गरी तत्काल नियुक्ती गर्न सहज वातावरण सिर्जना गरिदिन समेत अध्यक्ष दाहालले अनुरोध गरेका छन् ।
चलचित्र विधेयक पास नहुँदा चलचित्र विकास बोर्डले नीति तथा योजनाहरु कार्यान्वयन गर्न कठिनाई भएकोले तत्काल चलचित्र विधेयक पास हुनुपर्ने बोर्डको धारणा रहेको अध्यक्ष दाहालले बताए ।

छायाङ्कनका लागि नेपाल, सबै प्रदेशमा छायाङ्कनस्थल, समाजिक सुरक्षा कोष मोडालिटी अन्तर्गत श्रमजीवि चलचित्रकर्मीलाई व्यवस्थापनलगायतका योजनाहरु अघि बढेको पनि अध्यक्ष दाहालले जानकारी दिए । मौलिक नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा लाने र प्रचार प्रसार गर्नुपर्ने हुँदा त्यसको लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नुपर्ने बोर्डले जनाएको छ । बक्स अफिसको पूर्ण कार्यान्वयन गरी राज्यको आम्दानीमा समेत वृद्धि गर्नेगरी बोर्डले आन्तरिक तयारी थालेको समेत अध्यक्ष दाहालले जानकारी दिए ।

चलचित्र प्रदर्शन नभएसम्म नयाँ चलचित्र निर्माण नहुने र निर्माण नभएसम्म हजरौंको रोजिरोटी गुम्ने हुँदा आवश्यक मापदण्डसहित तत्काल हल खोली चलचित्र क्षेत्रलाई पूर्ण चलायमान गर्नुपर्ने समेत अध्यक्ष दाहालले मन्त्री गुरुङसमक्ष माग गरे ।