“निराश गल्लिहरुमा तिहारको रौनक”

0
98

झिलिमिलि बत्तीहरुले सुनसान अध्यारा रातहरुलाइ कमजोर बनाउनु पर्ने, एक बर्ष पर्खेर बल्ल फुल्ने अवसर पाएको मखमलीहरु म को भन्दा कमि छु र भन्दै हावा का झोकासंगै कहिले उत्तर कहिले दक्षिण गरिरहेका फुलहरु एउटै मालाको डोरीमा उनिनु पर्ने ।

चारै दिशामा माटाका पालामा संसारै उज्यालो गराउँछु भन्दै दियो दन्किरहनु पर्ने, सँघारमा हालिएका बसुधाराहरु तप तप भुइँमा चुहिनु पर्ने, कोमल, मुलायम अनि करोडौं करोड खुसीको भारी बोकेर लक्ष्मीका पाईलाहरु घरको आगनमा देखिनुपर्ने, गाउँ नै बसाउने गरि बनाइएका रोटीहरुले मुखको स्वाद फेर्नु पर्ने, काग कराउँदै मेरो घरको बतासिमा बसेर टपरीको भात खाँदै गर्नुपर्ने, घाटीमा आधा उनिएको माला लगाएर काले कुकुर मेरो घरको आगनमा घाम तापिरहेको हुनुपर्ने ।

तर, बिडम्बना न त यो गल्लिमा दशैं आएको थियो न त तिहार नै आउला भन्ने आशा बाँकी छ ।

अरु गल्लीहरुमा झिलिमिली जति चम्किन्छन त्योभन्दा बढी चम्किन्छ यहाँका घरका आगनमा चिसो सिरेटोले परिरहेका शीतका थोपाहरु ।

सामाजिक दूरी कायमै गरेर बनाइएका यी गल्लीका घरहरूमा पनि अनुहारमा चाउरी परेका जेन तेन प्राण धान्नकै लागि सिन्कीको झोल सम्म उमाल्न सक्ने अस्ताउँदा अनुहारहरु मात्रै छन ।

ती रङ्ग उढेका फिका अनुहारमा तिहारले कुनै उत्साह ल्याउन सकेको छैन । मारुनी गीत घन्काउँदै भैलो भन्दै हिँड्नसक्ने सामर्थ्य बोकेकाहरू छोराहरु सबै विदेशीएका छन् । भर्खर जन्मिएको नातिलाई यो गाउँको कुरुपताले नछोस भन्दै बुहारी सहर पसेकी छे ।