राप्रपा छाडेका नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै कांग्रेसमा असन्तुष्टि

0
68

काठमाडौं, शुक्रबार, ५ मङ्सिर २०७७ । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाउने निर्णय सर्वसम्मत पारित गर्‍यो ।

कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले राप्रपाको महामन्त्री भइसकेका पूर्वमन्त्री थापासँगै कांग्रेसमा प्रवेश गरेका नेताहरुमध्ये छ जना केन्द्रीय सदस्य र तीन जना आमन्त्रित केन्द्रीय सदस्य बनायो । थापा गत साउन १३ गते राप्रपाको केन्द्रीय कार्यसमितिका १६ जना सदस्यसहित ३१ जना नेताहरु साथमा ल्याएर कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेको तीन महिनापछि उनले कांग्रेसमा पदीय जिम्मेवारी पाए ।

केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत निर्णय गरेर राप्रपा परित्याग गरेर आएका नेताहरुलाई जिम्मेवारी दिँदा वर्षौंदेखि पार्टीमा सक्रिय रहेका कार्यकर्ताहरुको अवमूल्यन भएको भन्दै कांग्रेसकै कार्यकर्तादेखि शुभचिन्तकहरुले आलोचना गरिरहेका छन् । आलोचना गर्नेमा संस्थापनइतर समूहसँग निकट रहेका नेता–कार्यकर्ता र शुभचिन्तकहरु देखिएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा निर्णय हुँदा कुनै आपत्ति नजनाएका संस्थापनइतर समूहका नेताहरु पनि आलोचनालाई स्वाभाविक रुपमा लिइरहेका छन् ।

पार्टीमा लामो समयसम्म काम गरेका कार्यकर्ताहरु भूमिकाविहिन रहेका बेला पार्टी प्रवेश गर्ने वित्तिकै पद पाउँदा आलोचना हुनु स्वाभाविक भएको वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट एक युवा केन्द्रीय सदस्यको बुझाइ छ । “पार्टीमा लामो समयसम्म काम गरेका मान्छेहरु भूमिकाविहीन छन् । पद पाएका छैनन्, उपेक्षित छन् । यसरी आउने वित्तिकै पद पाउँदा आलोचना हुन्छ नै । आलोचना हुनु स्वाभाविक हो,” ती नेताले भने ।

पार्टीमा काम गरेका नेता–कार्यकर्ताहरु माथि न्याय गर्न नसकिएको गुनासो पौडेलनिकट नेताहरुको मनमा देखिएको छ । तर, उनीहरु खुलेर भने बोल्न सकिरहेका छैनन् ।

राप्रपा परित्याग गरेका नेताहरुलाई पदीय जिम्मेवारी दिँदा तपाईंको समूहको आपत्ति हो भन्ने प्रश्नको जवाफमा पौडेल पक्षीय अर्का केन्द्रीय सदस्यले भने, “समग्रमा पार्टीभित्रका साथीहरुलाई न्याय गर्ने हिसाबले मनमा गुनासो जस्तो भए पनि, काम गरेकाहरुलाई न्याय भएन भन्ने कुरा मनमनमा भए पनि समग्रमा प्राविधिक रुपमा हामीले सहमति जनाएकै हो नि । सहमति जनाएर उहाँहरु आउनुभएकै हो । नेताहरुका बीचमा अन्डरस्ट्यान्डिङ भएकै हो ।”

राप्रपा परितयाग गरेर कांग्रेसमा नयाँ भूमिका पाएका नेताहरुले भने आलोचनाका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । कांग्रेस केन्द्रीय सदस्यमा मनोनित राप्रपाका तत्कालीन प्रवक्ता तथा कार्यसम्पादन समिति सदस्य किरण गिरीले बाहिर आफूहरुका बारेमा आलोचना भइरहेको सुने पनि प्रतिक्रिया नदिने बताए ।

“भर्खरै प्रवेश गरेका छौं । कुनै प्रतिक्रिया छैन । नेपाली कांग्रेसलाई बलियो लोकतान्त्रिक शक्ति बनाउने उदेश्यले प्रवेश गरेका हौं,” उनले बाह्रखरीसँग भने, “नेपाली कांग्रेसबाट जुन ऐतिहासिक र महान निर्णय भएको छ त्यसप्रति आभार व्यक्त गर्दैछौं । त्यत्ति हो भन्नु ।”