अमेरिकी विश्वविद्यालयमा नेपाली युवाले तीस वर्षमै गरे विद्यावारिधि, थाले ‘पोस्ट डक’ को तयारी

0
76

बागलुङ, शुक्रबार, ५ मङ्सिर २०७७ । हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् ।

गलकोट नगरपालिका–७ मल्मका ३० वर्षीय रेशम थापाले भने पढाइलाई लिएर कहिल्यै पछाडि फर्कनुपरेन । सानैदेखि पढाइमा तेज थापाले सफलताका लागि जति मेहेनत र जाँगर चलाए, उसैगरी परिवारले आड र ढाडस दियो । वातावरण बनाइदियो ।

गाउँकै जनहित माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थापालाई उच्च शिक्षा अध्ययनको हुटहुटीले बुटवल, भारतको तामिलनाडु, अमेरिकाको नर्थ ड्याकोटा हुँदै मेरिल्याण्ड राज्यसम्म डोहोर्यायो । उनले जनहित माविपछि कक्षा ५ सम्म मल्मकै न्यूस्टेप इङ्लिस बोर्डिङ स्कूलमा पढेका थिए।

द्वन्द्वको प्रभावले गाउँको बोर्डिङ बन्द भएपछि परिवारले जेठोबुबा चन्द्रबहादुरसँग बसेर पढ्न उनलाई बुटवल पठाए । सन् २००६ मा बुटवलको क्यानन इङ्गलिस बोर्डिङ स्कूलबाट प्रवेशिका परीक्षा दिएका थापाले बुटवलकै गोलोरियस क्लेजबाट कक्षा १२ को अध्ययन पूरा गरे। त्यसपछि उनले स्नातकमा कृषि विज्ञान पढ्नका लागि भारत सरकारबाट छात्रवृत्ति पाए ।

भारतको ‘तामिलनाडु कृषि विश्वविद्यालय’ मा कृषि विज्ञानमा स्नातक सकेर सन् २०१३ मा थापा नेपाल फर्कए । नेपाल आएपछि उनले कृषिमै स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाने सोच बनाए ।

सन् २०१४ मा थापा पढ्नकै लागि अमेरिका पुगे । दुई वर्षपछि ‘नर्थ ड्याकोटा स्टेट युनिभर्ससिटी’बाट माटो विज्ञानमा स्नातकोत्तर हासिल गरे। सन् २०१६ मै विद्यावारिधिका लागि उनले ‘युनिभर्ससिटी अफ म्यारील्याण्ड’मा बाली विज्ञान पढ्न थाले ।

चार वर्षसम्मको पढाइ र शोधपछि थापाले हालै सो युनिभर्ससिटीको डिपार्टमेन्ट अफ प्लान्ट्स साइन्स एण्ड ल्याण्डस्केप आर्किटेक्चरबाट विद्यावारिधिको उपाधि हासिल गरेका हुन् । आउँदो डिसेम्बर २२ मा उनी विश्वविद्यालयबाट दीक्षितसमेत हुँदै छन् ।

थापाले ‘मोडलिङ डिकम्जोजिसन एण्ड नाइट्रोजन रिलिज फ्रम सरफेस कभर क्रप रेसिड्यु इन नो–टिल सिस्टम इन द मिड एटलान्टिक एण्ड साउथइष्टर्न युएसए’ विषयमा शोध गरेका हुन् । छोप्ने बाली (कभर क्रप) ले कहिले र कति मात्रामा माटोमा नाइट्रोजन बढाउँछ भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको उनको भनाइ छ ।

वर्षको एक बाली मात्र खेती हुने ठाउँमा जमिन बाँझै नरहोस् र माटोको उर्बरा शक्ति ननासियोस् भनेर छोप्ने बाली लगाउने गरिन्छ । त्यस्तो बालीले माटोमा जैविक पदार्थ बढाउने गर्छ । विभिन्न बिरुवा मिसाएर छोप्ने बाली लगाइन्छ । अनुसन्धानले कृषि क्षेत्रको विकासमा नयाँ आयाम थप्ने थापाको विश्वास छ ।

विद्यावारिधिपछि पनि उनी विद्या वाचस्पति (पोस्ट डक) का लागि अनुसन्धानमा सक्रिय छन् । “विद्यावारिधि गर्छु भन्ने त यसअघि सोचेकै थिइनँ, पढ्दै जाँदा बाटो खुल्दै गयो”, उनले भने, “अहिले पढाइ मात्र सकिएको छ, व्यावहारिक ज्ञान लिन त बाँकी नै छ ।” थापाले नेपालमा कृषि विज्ञानको पढाइ हुन्छ भनेर भारत गएपछि मात्र थाहा पाएको उल्लेख गरे ।

बीचमा अरुथोक नसोची लगातार पढाइमा लागेकाले विद्यावारिधिको अध्ययन छिट्टै पूरा भएको थापाको भनाइ छ । “पछि कुनै परियोजना हुन्छ या अनुसन्धानमार्फत जन्मभूमि नेपालको कृषि क्षेत्रलाई योगदान गर्ने सोच छ”, थापाले सुनाए । पढाइमा निरन्तरको लगावले थापाले कम उमेरमै सफलता पाएको उनका दाजु दिनेशले बताए ।

“भाइ सानैदेखि पढाइमा अब्बल थियो, शुरुदेखि अहिलेसम्मै छात्रवृत्तिमा पढ्न पायो”, दिनेशले भने । भाइले आफूले आर्जेको ज्ञान, सीप र दक्षता देशका लागि खर्चने योजना सुनाउने गरेको दिनेशले बताए । थापाका बुबा हिराबहादुर शिक्षण पेशा र आमा थुमकली सामाजिक क्रियाकलापमा सक्रिय छन् ।