रत्नपार्कलाई ‘शङ्खधर उद्यान’ नामकरण गरी सालिक अनावरण

0
68

काठमाडौँ, शनिबार, ६ मङ्सिर २०७७ । राष्ट्रिय विभूति शङ्खधर साख्वा र प्रजातान्त्रिक आन्दोलनका सूत्रधार पद्मरत्न तुलाधरको सालिक शनिबार अनावरण गरिएको छ ।

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा निर्माण गरिएको शाख्वा र तुलाधरको सालिक अनावरण गरिएको हो । सालिक अनावरणपछि सहरी विकासमन्त्री श्रेष्ठले शाख्वा र तुलाधर दुवै इतिहास पुरुष भएको बताउनुभयो ।

नेपाल सम्वतलाई राष्ट्रिय संवतका रूपमा स्थापित गर्नु भन्नेमा कसैले पनि विमति नराख्ने उल्लेख गर्दै उहाँले रत्नपार्कलाई ‘शङ्खधर उद्यान’ घोषणा गरी वामपन्थी आन्दोलनका अगुवा तुलाधर र प्राजातान्त्रिक आन्दोलनका अगुवा शङ्खधर साख्वाको सालिक निर्माण हुनु इतिहासको सम्मान भएको बताउनुभयो ।

महानगरपालिकाका प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्तिहरूलाई चाहेर पनि बिर्सन नसकिने बताउनुभयो । उपत्यकावासीका लागि शङ्खधर र पद्मरत्न सबै मनमुटुमा रहेको उल्लेख गर्दै मेयर शाक्यले उहाँहरूलाई सधैँ सबैले चिन्न र देख्न सकून् भनेर पार्कभित्र सालिक निर्माण गरिएको बताउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाल, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, महानगरकी उपप्रमुख हरि प्रभा खड्गी पनि सहभागी हुनुहुन्थ्यो ।