नाइजेरियामा खेतमा काम गरिरहेका ११० जना किसानको घाँटी रेटेर हत्या

0
479

एजेन्सी, सोमबार, १५ मङ्सिर २०७७ । उत्तर–पूर्व नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जना किसानको क्रूर ढंगले हत्या गरेको छ ।

आक्रमणकारीहरूले धान खेतमा किसानहरूलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

घटना शनिबार मैदुगुरी शहर नजिकैको कोसोबे गाउँमा भएको हो । घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

संयुक्त राष्ट्रसंघले घटनाको निन्दा गर्दै चिन्ता प्रकट गरेको छ ।

राष्ट्रसंघका एक अधिकारी एडवर्ड क्यालनले भने, ‘घटना यस बर्ष निर्दोष नागरिकहरूमाथिको सबैभन्दा ठुलो हिंस्रक प्रत्यक्ष आक्रमण हो । म यस जघन्य अपराध गर्नेहरूलाई कानुनमा पुर्‍याउन आह्वान गर्दछु।’

क्यालनले धेरै महिलाको अपहरण भएको आशंका व्यक्त गरेका छन् र उनीहरूलाई तत्काल रिहा गर्न र सुरक्षामा फर्कन आह्वानसमेत गरे।

नाइजेरियाका राष्ट्रपति मुहम्मु बुहारीले उक्त हमलाको निन्दा गर्दै यो मूर्खतापूर्ण हत्याले सारा देश घाइते भएको बताएका छन् ।

बोर्नो राज्यमा लामो समयपछि भएको स्थानीय चुनावमा मतदाताले मतदान गर्न थालेपछि सो आक्रमण भएको हो। बोको हराम र प्रतिद्वन्द्वी असन्तुष्ट समूहको कारण यो चुनाव बारम्बार स्थगित भएको थियो ।