खेलाडी प्रोत्साहन भत्ताका लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने

0
99

काठमाडौं, बुधबार, ७ माघ २०७७ । युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताका लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने बताएका छन् ।

ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल फुटबल संघको १९औँ एन्फा कंग्रेस (साधारणसभा) लाई सम्बोधन गर्दै मन्त्री तामाङले मन्त्रालयले विगतका वर्षमा दिँदै आएको तर हाललाई रोकिएर रहेको खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्तालाई मन्त्रालयले पुनः व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने बताएका हुन् । यसको सन्दर्भमा मन्त्रालय छिट्टै टुंगोमा पुग्ने उनको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवालले नेपाली खेलाडीहरुसँग योग्यता, क्षमता तथा सीप भए पनि व्यवस्थित प्रशिक्षणको अभाव रहेको बताए । नेपाली खेलाडीलाई अन्तर्राष्‍ट्रिय स्तरमा प्रशिक्षण दिलाउन सके खेल क्षेत्रमा उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ । खेलाडीहरु फुट र विभाजनमा नलागी एकताबद्ध भए मात्रै फुटबल क्षेत्रले सफलता हासिल गर्न सक्ने उनले बताए ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबललाई परिणाममुखी रुपले व्यवस्थित गर्न बजेटको आवश्यकता रहेको बताए । बजेटको व्यवस्था मन्त्रालय तथा परिषद्ले गरिदिए नेपाली फुटबललाई चार वर्षभित्र व्यावसायिकतातर्फ उन्मुख गराउने उनको भनाइ छ ।

कोभिड १९ को मारमा खेल क्षेत्र पनि उत्तिकै प्रभावित भएको छ । खेलाडी तथा खेल क्षेत्रका व्यक्तिहरुले खेल क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा फर्काउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताउने गरेका छन् ।