0
120

काठमाडौं, ७ मङ्सिर २०७६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले नेपालमा लगानी गरी आर्थिक फाइदा लिन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् ।

हाल अमेरिकाको भ्रमणमा रहेका मुख्यमन्त्री गुरुङले अमेरिकाको वासिंगटन राज्यका गर्भनर जे इन्सुलीसँगको दुईपक्षीय भेटका क्रममा सो आग्रह गरेका छन् ।

दुईपक्षीय भेटमा मुख्यमन्त्री गुरुङले भौगोलिक रुपमा नेपाल विश्वका दुई ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेकाले नेपालमा लगानी गरि प्रचूर आर्थिक फाईदा लिन आग्रह गरे ।

नेपालमा खासगरी पूर्वाधार निर्माण जलविद्युत् कृषि, स्वच्छ ऊर्जा, पर्यटन, जडीबुटी र वनस्पति जस्ता क्षेत्रमा लगानीको प्रचूर सम्भावना रहेकाले नेपाल भ्रमण गरी ती सम्भावनाहरुलाई लगानीमा परिणत गर्न मुख्यमन्त्री गुरुङले अनुरोध गरे ।

प्रतिउत्तरमा वासिंगटन राज्यका गर्भनर जे इन्सुलीले नेपाल भ्रमण गर्ने तीव्र इच्छा रहेको र नेपालका हिमालको संरक्षणका लागि विभिन्न फोरममा आफूले कुरा उठाउने गरेको बताए ।

सो अवसरमा वासिंगटन राज्यका लागि एसिया प्यासिफिक अमेरिकी मामिलाका कमिसनर मोहन गुरुङले नेपाल र अमेरिकाको वासिंगटन राज्यबीच व्यापार विस्तारको प्रशस्त सम्भावना रहेको बताए ।

नेपाल र अमेरिकाको वासिंगटन राज्यबीच व्यापार विस्तारका लागि सन् २०२० सम्ममा संयुक्त व्यापार संरचना निर्माण गर्ने उद्देश्यका साथ काम भइरहेको उनले बताए ।