नागरिक स्वतन्त्रता कुण्ठित गर्ने विधेयक रोक्न संसदमा कांग्रेसले प्रभावकारी भूमिका खेल्ने

0
136

काठमाडौं, २६ पौष २०७६ । नेपाली कांग्रेसका सचेतक पुष्पा भुषालले नागरिक स्वतन्त्रता कुण्ठित गर्ने विधेयक रोक्न संसदमा कांग्रेसले प्रभावकारी भूमिका खेल्ने बताएकी छन् ।

मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, सूचना प्रविधि विधेयक र विशेष सेवा गठनसम्बन्धि विधेयकले नागरिक स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको उनको आरोप थियो । विकास सुचना प्रविधि विधेयक संसदमा आइनसकेको भन्दै उनले नागरिक स्वतन्त्रता कुण्ठित गर्ने सबै विधेयकका विपक्षमा कांग्रेस उभिने बताइन् ।

“समितिले बहुमतका आधारमा संविधानको मर्मविपरित हुनेगरि विधेयक पारित गरेको छ । संसदमा त्यस्ता विधेयक रोक्न कांग्रेसले सशक्त भूमिका खेल्छ”, कार्यक्रममा सहभागि कानुन व्यवसायी,मानवअधिकारकर्मी, नागरिक अगुवाहरुलाई आग्रह गर्दै उनले भनिन्, “संसदभित्र कांग्रेसले आवाज उठाउँछ । संसद बाहिर तपाईंहरुको साथ चाहिन्छ ।”

शुक्रबार संवैधानिक कानुन व्यवसायी मञ्च, जुरी नेपाल, मानवअधिकार पत्रकार एसोसियसनले शुक्रबार आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रता संरक्षणका चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले नागरिक स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको सरकार अलोकतान्त्रिक बाटोमा हिँडेको आरोप लगाइन् ।

बहुमत संविधानको मर्म र भावना भन्दा ठुलो नहुने तर्क गर्दै उनले संवधानको भावना र मर्म विपरित जान संविधानले नदिने भएपनि अभ्यासमा भने सरकार त्यसतर्फ लागेको उनको भनाई थियो ।

कांग्रेस नेतृ भुषालले प्रेस र मनवअधिकारको घाँटीमा तरबार झुण्ड्याउन खोज्यो भने संविधानले नस्विकार्ने बताइन् । सरकार कानुन बनाएर आफु बलियो बाटोमा हिँडेको भन्दै प्रेस र मानवअधिकारलाई कमजोर बनाउन खोजिए कांग्रेस चुप नबस्‍ने बताइन् ।