देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्ड सकारात्मक, जसपाले समय माग्यो

0
50

काठमाडौं । नयाँ सरकार गठन गर्नको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक विनानिष्कर्ष सकिएको छ।

देउवा निवास बुढानिलकण्ठमा आधा घण्टा चलेको छलफल विनानिष्कर्ष सकिएको हो । बैठकमा जसपाका नेताहरुले पार्टीमा छलफल गर्न समय माग गरेपछि अर्को बैठक छिट्टै बस्नेगरी सकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

काँग्रेसले नयाँ सरकार गठनका लागि सघाउन माओवादी र जसपासँग खुला प्रस्ताव राख्दा जसपाले निर्णय गर्न केही दिनको समय माग गरेको हो । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने पक्षमा छन् । तर, संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली इतरको सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने काँग्रेसको प्रस्ताव सकारात्मक रहेको भन्दै आफू सहकार्य गर्न तयार रहेको बताएका थिए । प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको समेत स्पष्ट पारे ।

बैठकमा कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मालगायत नेता सहभागी थिए ।

माओवादीबाट अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी थिए । यस्तै, जसपाबाट नेताहरु ठाकुर, डा. भट्टराई, यादव, महतो, अशोक राईलगायत सहभागी थिए ।