सर्वदलीय बैठक : तीन विषयमा छलफल

0
74

काठमाडौं, ४ बैशाख २०७८ । शनिबार प्रधामन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा एमाले, कांग्रेस, जसपा, राप्रपालगायतका दलबाट प्रतिनिधित्व गर्ने नेताहरुको उपस्थिति थियो।

बैठकलाई माओवादी केन्द्रले बहिष्कार गरेको थियो। एमालेका वरिष्ठ नेताहरु तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पनि बैठकमा सहभागी भएनन्। जसपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भएनन्।

सुरुआतमै प्रधानमन्त्री ओलीले बैठकमा छलफल गरिने विषयबारे जानकारी गराएका थिए। दलहरुको छलफल त्यसमै केन्द्रित भएको थियो।

तीन विषयमा छलफल
शनिबारको सर्वदलीय बैठकमा मुख्यगरी तीन विषयमा छलफल भएको सहभागी नेताहरुले बताएका छन्। ‘बैठकमा मुख्यतया तीनवटा विषयमा केन्द्रित भएर छलफल भएको छ। पहिलो, बढ्दो कोरोना महामारीको प्रतिकार्य कसरी गर्ने, यसलाई रोकथाम र नियन्त्रणका लागि के-कस्ता उपायहरु अवलम्बन कसरी गर्ने। दोस्रो, रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहमा गर्ने उपनिर्वाचनको सन्दर्भमा। तेस्रो, संसद्‌मा अड्किरहेका केही बिजनेसहरु र पछिल्ला राजनीतिक स्थितिहरुको बारेमा पनि सर्वदलीय बैठकमा गम्भीरतापूर्वक छलफल भयो,’ बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने।

ज्ञवालीका अनुसार, कोरोना महामारीका सन्दर्भमा सबै दलहरुको एउटै राय थियो। सहभागीहरुले चुनौती दिन प्रतिदिन बढ्दै गएकोले यसको रोकथाममा सरकारले अझ सजगता अपनाउनुपर्ने धारणा राखेका थिए। त्यस्तै, उपनिर्वाचनका सन्दर्भमा सबैले सहमति दिएका थिए। ‘नेपाली कांग्रेसले भदौमा आफ्नो महाधिवेशन भएको हुनाले महाधिवेशनको कार्यक्रम प्रभावित नहुनेगरी निर्वाचनको कार्यतालिका तर्जुमा गरियोस् भनेर उहाँहरुको सुझाव थियो। प्रधानमन्त्रीले कांग्रेससँग परामर्श गरेर महाधिवेशनलाई प्रभावित नपार्नेगरी नै छलफल गर्छौं भन्‍नुभएको छ,’ ज्ञवालीले भने।

जसपाको चासो नागरिकता विधेयक
बैठकमा प्रधानमन्त्रीका तर्फबाट प्रस्तुत विषयहरुमा जसपाको तर्फबाट सहमति जनाइएको भए पनि उनीहरुका तर्फबाट नागरिकता विधेयकको विषयमा चासो राखिएको ज्ञवालीले बताए। बैठकमा जसपाको तर्फबाट महन्थ ठाकुर तथा लक्ष्मणलाल कर्ण सहभागी थिए।

‘नागरिकता विधेयक लामो समयदेखि अड्किएको छ। त्यसले गर्दा जन्मको आधारमा नागरिकता पाएकाका सन्तानहरु ठूलो संख्यामा नागरिकताविहीन भएका छन्। यो विषय छिटो अगाडि लगाइयोस् भन्‍ने उहाँहरुको धारणा थियो,’ उनले भने।

नागरिकता विधेयक संसदीय समितिबाट पारित भइसकेको भए पनि त्यसपछिको संसदीय प्रक्रिया अघि बढ्न सकेको छैन।

‘सभामुख अराजक र अनैतिक’
बैठकमा प्रधानमन्त्री ‌ओलीले सभामुख अग्‍निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गरेका थिए। उनले सापकोटालाई अराजक र अनैतिक भएको भन्‍ने आरोप लगाएका थिए। ‘प्रधानमन्त्रीले संसद्ले काम गर्न दिएन, सभामुखले अराजक र अनैतिक काम गरिराख्नुभएको छ भन्‍नुभयो,’ बैठकमा सहभागी राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले भने।

एमसीसी संसद्‌मा निर्णयार्थ पेस नगरेकोमा प्रधानमन्त्री ओलीले सभामुख सापकोटाप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनले आजको बैठकमा त्यसलाई नै निरन्तरता दिएका हुन्।

‘खासगरी एमसीसी लामो समयदेखि अड्किरहेको छ। झन्डै पौने दुई वर्ष भयो। त्यसलाई पास गर्ने कि नगर्ने भन्‍ने संसद्को आफ्नो कुरा भयो। संसद्लाई त्यो अधिकार छ। पास गर्न पनि सक्छ, नगर्न पनि सक्छ। तर, सभामुखले तजविजी अधिकार प्रयोग गरेर (जुन तजविजी अधिकार उहाँसँग छैन) त्यसलाई लामो समयसम्म रोक्न मिल्दैन भन्‍ने कुरामाचाहिँ सबै दलहरुको साझा धारणा रह्यो,’ बैठकपछि परराष्ट्रमन्त्री पदीप ज्ञवालीले भने।

कांग्रेसको सुझाव : लकडाउन नगरौं
बैठकमा कोरोनाको विषयमा छलफल हुँदा लकडाउन गरिहाल्ने कुरा ठीक नहुने धारणा राखेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। ‘कोभिडको बारेमा सरकार अरु गम्भीर हुनुपर्‍यो,’ उनले बैठकमा राखेको धारणा सुनाए, ‘लकडाउनभन्दा रोकथामतिर जानुपर्छ। र, कोभिडको निवारण, रोकथाम र उपचारका लागि सरकारले आइसोलेसन सिट आवश्यक मात्रामा बढाएर राख्नुपर्छ। रोकथामका विधिहरुमा सरकारले ध्यान दिएर जनतालाई सचेत बनाउनुपर्छ।’