अमेरिका र जापानबीच सहकार्यलाई निरन्तरता दिने सहमति

0
63

काठमाडौँ, ५ बैशाख २०७८ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् बैठकपछि दुवैले संयुक्त प्रेस सम्मेलन गरी उक्त कुराको जानकारी गराए ।

सो अवसरमा अमेरिकी राष्ट्रपति बाइडेनले दुवै पक्षले अमेरिका–जापान गठबन्धन, महामारी, नयाँ प्रविधि, जलवायु परिवर्तन र जनताबीच सहकार्यको लागि सहयोग पुर्‍याउन सहमति गरेको पुष्टि गरे ।

बाइडेनले चीन र उत्तर कोरियाको ‘चुनौतीहरू’को सामना गर्न दुवै पक्षले मिलेर काम गर्ने पनि बताए ।

यसैबीच जापानी प्रधानमन्त्री सुगाले आफू र बाइडेनले ‘प्रशान्त महासागर क्षेत्र र विश्वको समृद्धिमा चीनको प्रभाव’ बारे छलफल गरेको र दुवै मुलुकले ‘चीनसँग खुला रूपमा कुराकानी गर्ने आवश्यकतामा सहमत भएको जानकारी दिए ।

ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार दुवै सहयोगीहरूले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने विषयमा पनि प्रतिबद्धता जनाएका छन् ।

यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लिचियानले विज्ञप्तिबारे चिनियाँ प्रतिक्रिया दिँदै जापान र संयुक्त राज्यले चीनको चिन्ता र मागलाई गम्भीरताका साथ लिनुपर्ने जिकिर गरेका छन् ।

उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनको हितलाई हानि पुर्‍याउने कदम नचाल्न र चीनलाई लक्षित गरी समूह गठन नगर्न आग्रह गरे ।