जसपाले पायो ४ मन्त्री

0
91

काठमाडौं, ६ बैशाख २०७८ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का सांसद ६ जना मात्रै छन् । तर, ६ सांसद मात्रै भएको जसपाले ४ मन्त्री पाएको छ । राजनीतिक तानातानका बीच सोमबार जसपाका ४ सांसदले मन्त्री बन्ने अवसर पाएका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलले आफुँविरुद्व नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव असफल बनाउन ६ सांसद भएको जसपालाई ४ मन्त्री दिएका हुन् । उनले आफुँविरुद्वको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ४ सांसदलाई सोमबार नै मन्त्रीको सपथ पनि दिलाएका छन् ।

मुख्यमन्त्री पोखरेलले आफुँविरुद्व दर्ता अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसद सन्तोष पाण्डे, विजय यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई मन्त्री बनाएका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका ४१ सांसद छन् । २ सांसदको समर्थनको अभावमा बहुमत गुमाएको प्रदेश सरकारविरुद्व सोमबार तीन दल मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जसलाई असफल बनाउने क्रममा मुख्यमन्त्री पोखरेलले ४ सांसदलाई मन्त्री बनाईदिएका हुन् ।

८ सदस्यीय मन्त्रीपरिषदमा एमाले र जसपा बराबर

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ८ मन्त्री छन् । सोमबार भएको मन्त्रिपरिषद पुर्नगठनसँगै ४ नेकपा एमाले र ४ जसपाका मन्त्री छन् ।
मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधार, भूमि व्यवस्था, कृषि तथा सहकारी, शिक्षा तथा सामाजिक र विकास मन्त्रालय जसपालाई दिएका छन् ।