काठमाडौं उपत्यकामा निषेधाज्ञा: के खुल्छन्, के खुल्दैनन् ?

0
108

काठमाडौँ, १३ बैशाख २०७८ । काठमाडौँ उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ।

आज सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने स्रोतले जानकारी दिएको हो । सार्वजनिक, निजी सवारीसाधन पूर्णरुपमा बन्द हुने छ । तर, एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी भने चल्नेछन् ।

अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाइने छ । यस्तै, खाधान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ ।

होटल र रेष्टुरेन्ट खोल्न पाइने छैन । तर, होम डेलिभरी भने गर्न सकिने छ ।

यस्तै, सरकारी कार्यालय खुल्नेछन् । बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ ।