भारतमा कोरोना संक्रमितमा नयाँ रेकर्ड, २४ घण्टामा ३५०१ जनाको मृत्यु

0
52

नयाँ दिल्ली, १७ बैशाख २०७८ । भारतमा एक करोड ८७ लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । गत २४ घण्टामा ३ लाख ८६ हजार ८८८ जनामा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८७ लाख ५४ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यहाँ संक्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार ५०१ जनाको कोरोना संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख आठ हजार ३१३ पुगेको सो मन्त्रालयले जनाएको छ ।

एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष शुरु भएयताकै यो सब भन्दा धेरै भएको समाचारमा जनाइएको छ । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका यो नवौँ दिन भएको बताइएको छ । कोरोना महामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।

भारतमा हाल ३१ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ५० लाख ८६ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म १५ करोड भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ, भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।