सस्तियो हवाई भाडादर

0
52

झापा, १८ बैशाख २०७८ । झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ ।

अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको छ ।

कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला भद्रपुरबाट राजधानी जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो । सामान्यतया भद्रपुर–काठमाडौँको भाडादर न्यूनतम् रु तीन हजार रहने गरेको छ । “कोरोनाको सङ्क्रमणको त्रास बढेका कारण राजधानी जाने क्रम ह्वात्तै घटेको छ”, खनालले भने, “काठमाडौँबाट आउनेहरुको भने चाप बढेको छ ।” काठमाडौँबाट भद्रपुर आउँदाको हवाई भाडादर बढेर रु चार हजारदेखि रु नौ हजार २५० सम्म पुगेको छ ।

भद्रपुरको चन्द्रगढी विमानस्थल २०२८ सालमा स्थापना भएको हो । तर २०३० सालमा आन्तरिक कारणबाट विमानस्थल बन्द भयो । त्यसपछि एकैचोटि २०४८ साल चैत १८ गते मात्र विमानस्थल खुलेको थियो । २०४८ सालमा विमानस्थल खुलेको पहिलो दिन आफूले नै रु एक हजार ७८० मा शाही नेपाल वायु सेवा निगमको जहाजको टिकट काटेको स्मरण गर्दै अनिमेष ट्राभल्सका सञ्चालक खनालले भने, “भद्रपुर-काठमाडौँ रुटको आजको भाडादर इतिहासमै सबैभन्दा सस्तो हो ।”

कोभिड–१९ को महामारी र निषेधाज्ञाको अवस्थाका कारण यात्रु घटेको जनाउँदै एयरलायन्सहरुले हवाई उडानसमेत कटौती गर्न थालेका छन् । शुक्रबारदेखि भद्रपुर–काठमाडौँ रुटमा बुद्ध एयरले दैनिक पाँच उडानमध्ये दुई उडान कटौती गरिसकेको छ । यति एयरले तीन उडानमध्ये एउटा कटौती गरेको छ । श्रीएयरका दुई र सौर्य एयरको दैनिक एक उडान कायमै छ ।

यसअघि हरेक दशैँ–तिहारका बेला काठमाडौँबाट आउने यात्रु अत्यधिक हुने तर जाने यात्रु घट्ने भएका कारण हवाई सेवा प्रदायक कम्पनीहरुले भद्रपुर–काठमाडौँको भाडादर घटाएर रु एक हजार ६०० सम्म पु-याउने गरेका थिए ।