लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा पोखरेल नियुक्त गरिएपछि देउवाले भने- ‘घटना अलोकतान्त्रिक !’

0
36

काठमाडौँ, २० बैशाख २०७८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतबार भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाएका छन् । सो घटनाले संविधानको उल्लङ्घन भएको आरोप देउवाले लगाएका छन् ।

सभापति देउवाले विज्ञप्तिमार्फत नेकपा (एमाले)ले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको जिकीर गर्दै पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसङ्गत नभएको आरोप लगाएका हुन् ।

नेपालको संविधानबमोजिम संसद्मा अविश्वास प्रस्तावको प्रक्रिया अघिबढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्याइ राजीनामा गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु संविधान एवं संसदीय मूल्य-मान्यता, विधि र पद्धतिको ठाडो उल्लङ्घन भएको सभापति देउवाको तर्क छ ।

ज्ञातव्य छ, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शङ्कर पोखरेललाई नै पुनः नियुक्ति दिइएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभामा बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख यादवसमक्ष दावी पेश गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

पोखरेलले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । राजीनामालगत्तै उनको पुनर्नियुक्तिको प्रक्रिया सञ्चालन गरिएको थियो ।