पत्रकारलाई स्वास्थ्य सामाग्री तथा परिचयपत्र वितरण

0
43

पोखरा, मंगलबार, २१ बैशाख २०७८ । पत्रकार महासंघ कास्कीले आज पत्रकारहरुलाई स्वास्थ्य सामाग्री तथा परिचयपत्र वितरण गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सोमबार पत्रकार महासंघ कास्कीमा आवद्ध पत्रकारहरुलाई सेनिटाइजर र माक्स वितरण गरिएको हो ।
दोस्रो चरणमा तिव्र रुपमा फैलिएको कोभिड–१९ का कारण अग्रपंत्तिमा रहेर काम गर्ने पत्रकारहरुले जोखिम मोलेर काम गर्नुपर्ने भएकोले पत्रकारको सुरक्षाको लागि सेनिटाइजर र मास्क करिब २ सय पत्रकारलाई दिइएको थियो। भने नविकरण गरिएका परिचयपत्र १ सय १८ जना पत्रकारलाई वितरण गरिएको छ ।

स्वास्थ्य सामाग्री र परिचय–पत्र पाउन छुटेका पत्रकारहरुले पत्रकार महासंघ कास्कीको कार्यालयबाट आफ्नो अनुकुलमा लिन सक्ने पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले बताएकी छिन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी थिइन्। “राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र संचारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिइ पत्रकारिताको विकासका लागि कर्म गर्ने प्रेरणा मिलोस्, स्वतन्त्रता पक्षधर सबैलाई हार्दिक शुभकामना अर्पण गर्दछु” उनले भनिन् ।

नेलम्वो नेपालले पत्रकार महासंघ कास्कीलाई उक्त स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो । विश्व स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले आवश्यकता अनुसार पत्रकारहरुको जोखिम न्यूनिकरणका लागि थप स्वास्थ्य सामाग्री निरन्तर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम नगरि पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामाग्री वितरण गरिएको र फिल्डमा काम गर्न असहज नहोस् भनी पत्रकार परिचयपत्र वितरण गरिएको उनले बताए ।

पत्रकार महासंघ कास्कीले कोरोनाको उच्च जोखिमका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम नगरी स्वास्थ्य सामाग्री र महासंघ कास्कीका सदस्यहरुलाई नविकरण गरिएको परिचयपत्र वितरण गरेको थियो ।

अघिल्ला वर्षहरुमा पत्रकार महासंघमा नविकरण गरिएका कार्डहरु केन्द्रबाट छपाई गरी आउदा ढिला भएका गुनासाहरु रहँदै आएको थियो । अहिले भने कास्कीबाटै उपलब्ध गराइनु “सही समयमा सही काम गरेको” पत्रकारहरुले बताएका छन् ।