अस्पताल बनाउँदै पालिकाहरू

0
44

काठमाडौँ, मंगलबार, २१ बैसाख २०७८ । अस्पतालमा बेड नपाएर कोरोना संक्रमितको ज्यान जाने अवस्था आएपछि लामो समय मौन रहेका स्थानीय सरकार अस्पताल निर्माणमा जुटेका हुन् । कतै भने सामान्य आइसोलेसनलाई स्तरोन्नति गरेर अक्सिजन सिलिन्डरसहितको सुविधामा परिणत गरिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शय्याको अस्पताल तयार पारेको छ । अक्सिजन उपलब्ध हुनासाथ अस्पताल सञ्चालन हुने नगर प्रमुख घनश्याम पाण्डेले बताए । बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा भुइँमा राखेर उपचार गर्ने अवस्थापछि शनिबार १० आईसीयू, ५० एचडीयू र ४० सामान्य गरी १ सय शय्या बढाइएको छ । यसअघि ५ आईसीयू र ३० सामान्य गरी ३५ शय्या मात्रै थिए ।

लमही नगरपालिकाले २५ शय्या, बबई गाउँपालिकाले ३०, दंगीशरणले १०, शान्तिनगरले २० र बंगलाचुलीले १५ शय्याका अस्पताल तयार पारेका छन् । दिनहुँ औसतमा एक सयभन्दा बढी बिरामी थपिइरहेका छन् ।

घोराहीमा गत मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पतालहरूमा शय्या विस्तार गर्ने निर्णय गरेको थियो । बैठकले गाउँपालिकाले कम्तीमा २० तथा उपमहानगर र नगरपालिकाले ४० शय्याका अक्सिजनसहितका आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार स्थानीय तह आइसोलेसन अस्पताल बनाउने तयारीमा जुटेका हुन् ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।