गोरखा रिपरको ठक्करबाट ज्यान गुमाएकी मनमाया तामाङको परिवारलाई १५ लाख रुपैया क्षतिपूर्ति दिने सहमति

0
139

माघ १७, गोरखा ।
ट्रिपरको ठक्करबाट ज्यान गुमाएकी मनमाया तामाङको शव बुझ्न परिवार सहमत भएका छन् मृतकका परिवारलाई क्रसर सञ्चालकले १५ लाख रुपैया क्षतिपूर्ति दिने सहमतिपछि शव बुझ्न परिवारजन सहमत भएका हुन् ।
गोरखा नगरपालिका १० छेवेटारको गोरखकाली क्रसर उद्योगभित्रै ट्रिपरको ठक्करबाट ५२ वर्षकी तामाङको बिहान ज्यान गएको थियो । मृतक परिवारले ५० लाख रुपैया क्षतिपूर्ति पाउनु पर्ने र अवैध रुपमा सञ्चालित उक्त क्रसर बन्द हुनुपर्ने माग गर्दै शव उठाएका थिएनन् ।
प्रमुख जिल्ला अधिकारी सहित पीडितपक्ष र क्रसर सञ्चालकविच भएको वार्तामा क्षतिपूर्तिका विषयमा सहमति भएको हो । ‘पीडित परिवार र क्रसर सञ्चालकविच छुट्टै गोप्य छलफलबाट क्षतिपूर्तिका विषयमा सहमति भएछ, हामीले सिडिओ साबको आग्रहमा रोहवरमा सही गरिदिएका छौं ।’ छलफलका लागि उपस्थित एक प्रतिनिधिले भने ।
यस्तै ठक्कर दिने ग १ ख ८०२७ नम्वरको ट्रिपरका चालकलाई कानून अनुसार कारवाही गर्ने सहमति पनि भएको छ । तर अवैध रुपमा सञ्चालित उक्त क्रसर बन्द गर्ने विषयमा भने कुनै निर्णय भएको छैन ।
‘उक्त क्रसर हाललाई आफैंमा चल्न सक्ने अवस्था छैन’ प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भन्नुभयो, ‘कानून अनुसार चलेको रहेनछ भने पछि आवश्यक प्रक्रिया अघि बढिहाल्छ ।’