चितवनका अधिकांश सङ्क्रमित भोजभतेरमा संलग्न

0
59

चितवन, २४ बैशाख २०७८ । जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु सङ्क्रमित भेटिएका हुन् ।

गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रम हुनसकेका थिएनन् । गत फागुन ४ देखि यही वैशाख ५ गतेसम्म पनि शुक्रअन्ध भएका कारण शुभकार्य गर्न नहुने धार्मिक मान्यता थियो ।

लामो समयदेखि रोकिएका यस्ता कार्यक्रम वैशाख पहिलो हप्तापछि धमाधम भएका थिए । यस्ता कार्यक्रममा सहभागी नै बढी सङ्क्रमित भएको प्रारम्भिक सर्वेक्षणले देखाएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी गीतागञ्जली ढकालका अनुसार कार्यालयमा दुई कर्मचारीले यही वैशाख १६ गतेबाट सङ्क्रमितलाई फोन गरिरहेका छन् ।

दैनिक ५० जना हाराहारीलाई फोन गर्दा अधिकांशले विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रमबाट फर्किएपछि आफू सङ्क्रमित भएको बताएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष धेरैले अस्पताल आएर फर्किएपछि सङ्क्रमण भएको भन्थे, यस वर्ष भोजभतेरमा गएपछि सङ्क्रमण भएको भनेका छन् ।” टेलिफोनबाट सर्वेक्षण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क भने आउन नसकेको उहाँको भनाइ थियो । वैशाखयता मात्रै जिल्लामा एक हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् ।

पछिल्ला दिनमा दैनिक २०० भन्दा बढी सङ्क्रमित देखिएका छन् । महानगरपालिकाका कोभिड–१९ सम्पर्क व्यक्ति केशव भट्टले महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा पनि अधिकांशले विवाह, व्रतबन्ध, भोजभतेरमा सहभागी भएपछि सङ्क्रमणमा परेको बताएको जानकारी दिनुभयो । कतिपयले जिल्ला बाहिर गएर आएपछि सङ्क्रमणमा परेको पनि जनाएको उहाँले बताउनुभयो । भट्टले भन्नुभयो, “अधिकांश भोजभतेरबाटै सङ्क्रमण फैलिएको पाइयो ।” महानगरपालिकाले पाँच समूह बनाएर वडा छुट्याएर सङ्क्रमितसँग सम्पर्क गरिरहेको छ ।