खाद्य वस्तु तथा तरकारीको ४८ प्रतिशतसम्म मूल्यवृद्धि

0
151

अघिल्लो वर्ष पुसमा ८.३१ प्रतिशत घटेको तरकारीदेखि गेडागुडीसम्मको मूल्यवृद्धि दर यो आर्थिक वर्षको ६ महिनामा यति धेरै अकासिएको हो 
काठमाडौँ — खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८.२४ प्रतिशतसम्म बढेको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ । 

प्रतिवेदनअनुसार गत पुसमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल, गेडागुडी र फलफूलको मूल्यवृद्धि उच्च थियो । मसलाको मूल्यवृद्धि दर १५.०६ प्रतिशत बढेको छ । अघिल्लो वर्षको पुससम्म यस्तो मूल्यवृद्धि २.६६ प्रतिशत मात्र थियो । दलहन र रक्सीजन्य पेय पदार्थको मूल्यवृद्धि दर १०/१० प्रतिशत बढेको छ । गत वर्षको पुसमा दलहन वस्तुको मूल्यवृद्धि दर ६.०४ प्रतिशत घटेको थियो भने र रक्सीजन्य पेयमा करिब १२ प्रतिशत बढेको थियो । यस वर्ष समग्र मूल्यवृद्धि दर ६.८२ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो वृद्धिदर ४.५८ प्रतिशत थियो ।

भारतमा खाद्य वस्तुको मूल्य उच्च भएकाले नेपालमा पनि त्यसको असर परेको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । खडेरीका कारण पछिल्ला महिनामा भारतमा तरकारीको मूल्य अकासिएको छ । ‘नेपालको मूल्यवृद्धि आयातित हो,’ भट्टले भने, ‘यस्तो मूल्यवृद्धि नियन्त्रणका लागि आन्तरिक उत्पादन बढाउनुपर्छ ।’

नेपालको दुई तिहाइ व्यापार भारत केन्द्रित रहेकाले त्यहाँको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव यता पर्छ । ‘पछिल्ला महिनामा आयात बढ्दो छ, धेरै आयात भारतबाटै हुन्छ,’ भट्टले भने, ‘भारतमा मूल्यवृद्धि तत्काल घट्ने सम्भावना छैन । आगामी दिनमा पनि नेपालको मूल्यवृद्धि दबाबमा रहन सक्छ ।’

गत पुसमा भारतमा मूल्यवृद्धि दर ७.५९ प्रतिशत छ । अघिल्लो वर्षको त्यही अवधिमा त्यहाँ मूल्यवृद्धि दर २.०५ प्रतिशत थियो । गत वर्ष खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.६५ र गैरखाद्य समूहको ६.११ प्रतिशत थियो । दैनिक उपभोग्य खाद्यको तुलनामा गैरखाद्य वस्तुको मूल्य भने कम मात्र बढेको छ ।

पुसमा लुगा तथा जुत्ताको मूल्यवृद्धि ५.४४ प्रतिशत, घरायसी सामग्रीको ३.३८ प्रतिशत र शिक्षाको ५.९४ प्रतिशत बढेको छ । ‘गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा, जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ,’ प्रतिवेदनमा भनिएको छ । ०७५ पुसमा लुगा तथा जुत्ताको मूल्यवृद्धि ६.९४, घरायसी सामग्रीको ८.३५ र शिक्षाको ४.८१ प्रतिशत थियो । ‘गत पुससम्म खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १०.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.२५ प्रतिशत छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।

चालु आवको पहिलो ६ महिनासम्म सबैभन्दा धेरै ७.७४ प्रतिशतले तराईमा बजार भाउ बढेको छ । त्यसपछि काठमाडौं उपत्यकामा ७.२४, पहाडमा ५.३९ र हिमालमा ५.०१ प्रतिशत मूल्य बढेको राष्ट्र बैंकको तथ्यांक छ । ०७५ पुसको तुलनामा हिमाल, पहाड, तराई र काठमाडौं उपत्यकामा मूल्यवृद्धि दर बढेको हो । यसले सरकारद्वारा लक्षित आर्थिक वृद्धिदर प्राप्तिमा पनि असर पर्ने देखिन्छ । यो वर्ष सरकारले साढे ८ प्रतिशतले आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । यो लक्ष्य प्राप्तिका लागि सरकारी खर्च बढाउनुपर्नेछ र त्यसले मूल्यवृद्धिमा झनै दबाब पर्नेछ ।

बाह्य क्षेत्र सन्तुलनमा

तुलनात्मक रूपमा मुलुकको बाह्य क्षेत्र सन्तुलनमा रहेको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख भट्टले दाबी गरे । ‘शोधनान्तर स्थिति करिब साढे २६ अर्ब रुपैयाँ मात्र बचतमा छ,’ उनले भने । शोधनान्तर बचतमा रहे पनि ढुक्कले बस्ने अवस्था नरहेको उनले बताए । ‘सावधानी आवश्यक छ, शोधनान्तर जुनसुकै बेला पनि ऋणात्मक हुन सक्छ,’ उनले थपे । रेमिट्यान्स आप्रवाहमा सुधार भएको, विदेशी विनिमय सञ्चिति बढेकोलगायत कारण ६ महिनासम्म मुलुकको बाह्य स्थिति सन्तुलनमा रहेको उनको भनाइ छ ।

गत पुसमा रेमिट्यान्समार्फत ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत वर्षको तुलनामा यो ०.९ प्रतिशत बढी हो । अघिल्लो वर्षको मंसिरमा रेमिट्यान्स आप्रवाह ३०.२ प्रतिशत बढेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स १.३ प्रतिशत वृद्धि भएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १७.६ प्रतिशत बढेको थियो ।’

गत आर्थिक वर्षका सबै महिना ऋणात्मक रहेको भुक्तानी सन्तुलन (शोधनान्तर) यो वर्षको छैटौं महिनामा पनि बचतमा छ । शोधनान्तर मुलुक भित्रिने र बाहिरिने मुद्राको अवस्था मापन गर्ने सूचक हो । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम धेरै भए शोधनान्तर ऋणात्मक हुन्छ । बाहिरिनेभन्दा भित्रिने रकम धेरै भएपछि शोधनान्तर स्थिति बचतमा हुन्छ ।

राष्ट्र बैंकका अनुसार गत मंसिरमा शोधनान्तर २६ अर्ब ६५ करोड रुपैयाँले बचतमा छ । अघिल्लो महिनाको तुलनामा शोधनान्तर बचत थोरै बढेको हो । अघिल्लो वर्षको ६ महिनामा यो ६३ अर्ब ६८ करोड घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ६ महिनामा ५५ करोड ९५ लाख घाटामा रहेकामा यो वर्षको समीक्षा अवधिमा २३ करोड ५३ लाख बचतमा रहेको प्रतिवेदनले देखाएको छ ।
ekantipur बाट