विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघको माग

0
68

काठमाडौं, २२ बैशाख २०७७ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ ।

कोरोना संकटका कारण क्याम्पस तथा विद्यालय खोल्ने अवस्था नभएपछि विभिन्न विश्वविद्यालय र विद्यालयले अनलाइन कक्षा सुरु गरेको अवस्थामा अनलाइन अध्ययनका लागि विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघले माग गरेको हो ।

नेविसंघले आइतबार टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय तथा क्यमम्पससँग विवरण लिएर सामाजिक उत्तरदायिन्व अन्तर्गतको बजेटबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको हो ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले विश्व स्वास्थ्य संगठनले कोरोनाको असर दुई वर्षसम्म पर्ने बताइसकेको र यसले नेपालको शिक्षामा पनि असर पार्ने भएकाले अनलाइन कक्षाको व्यवस्था गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताए ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सामुदायिक विद्यालय तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीका लागि शिक्षा मन्त्रालय र सञ्चार मन्त्रालयसँगको समन्वयमा केही सहुलियत दिने ठाउँ रहेको बताए ।