विश्व किर्तिमानी मिङमा शेर्पासहितका पर्यटन व्यवसायीहरु नेपाली कांग्रेसमा प्रवेश

0
67

काठमाडौं, शनिबार, ५ असार २०७७ । विश्व किर्तिमानी मिङमा शेर्पासहितका पर्यटन व्यवसायीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शेर्पासहित सातजना पर्यटन व्यवसायीलाई नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सदस्यता प्रदान गर्दै पार्टीम भित्र्याएका हुन् ।

सो कार्यक्रममा सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्वमन्त्रीद्वय डा. मीनेन्द्र रिजाल, गगन थापा, पूर्वराज्यमन्त्री दिपक खड्का, नेता दीपक गिरी, तारामान गुरुङको लगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी हुने दाबी गर्दै लोकतन्त्र प्राप्तिदेखि देश समृद्ध बनाउनसम्म कांग्रेस नै चाहिने धारणा राखे ।

सहमहामन्त्री महतले नेकपाको गलत रवैयाका कारण देश पछि परेको धारणा राखे । केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सरकार बेसार र तातो पानीको कुरामा अल्झिएको बताउँदै विकास र समृद्धिबाट विमुख हुन पुगेको आरोप लगाए ।

कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले कोरोनाको महामारीबाट बच्न गर्नुपर्ने तयारीमा सरकार चुकेको आरोप लगाउँदै सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त हुँदा कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गर्न नसकेको बताए ।

पार्टी प्रवेश गरेका पर्वतारोही शेर्पाले कांग्रेसले मात्रै लोकतन्त्रको संरक्षण र देश विकास गर्नेमा आफू विश्वस्त रहेको बताए ।