एनआरएन अन्तराष्ट्रिय साहित्य पुरस्कारको स्थापना

0
37

अमेरिका, सोमबार, ८ असार २०७७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषदले दुई लाख रुपैयाँ राशीको गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ ।

एनआरएन आइसीसीको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा समितिले यस्तो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । शनिवार सम्पन्न समितिको बैठकले पुरस्कारको लागि आवश्यक नीति,नियमावली र श्रोत व्यवस्थापन गर्न समितिका अमेरिका क्षेत्रका सह-अध्यक्ष महेश्वर पन्तलाई संयोजकको जिम्मेवारी दिएको छ ।

प्रवासमा रहेका गैर आवासीय नेपालीहरुले प्रकाशन गरेको उत्कृष्ठ कृतिलाई नगद राशीसहित स्वर्णपदक प्रदान गर्ने गरी प्रत्येक दुई वर्षमा पुरस्कार प्रदान गरिने संयोजक पन्तले जानकारी दिनुभएको छ । पुरस्कारका संयोजक पन्तले पाँच सय अमेरिकी डलर प्रदान गर्ने बैठकमा जानकारी गराउनु भएको छ ।

समितिका अध्यक्ष एवं एनआरएन आइसीसीका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा बसेको शनिवारको बैठकले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई अन्तर्राष्ट्रिय भाषा दिवसका रुपमा मनाउन विश्वका सबै नेपाली भाषा,साहित्यसंग सम्बन्धित संघ,संस्था र साहित्यप्रेमीहरुलाई आव्हान गर्ने र समितिले पनि एक विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । भानु जयन्ती असार २९ गते पर्दछ ।

समितिको दोश्रो पूर्ण बैठकले समितिका सदस्य गौतम दाहाल (अमेरिका) लाई समितिको संचार संयोजक मनोनित गरेको छ । यसैगरी, समितिकी सदस्य सचिव भगवती बस्नेत संयोजक रहेको अनलाइन साहित्यिक कार्यक्रम ‘प्रवास-प्रवाह’को सह-संयोजकमा समितिका सदस्य नृपेश उप्रेती (बेलायत) र सदस्यहरुमा विकास विष्ट (अमेरिका) र निमेष गिरि (युएइ)लाई मनोनयन गरेको छ। दुई महिना पहिले (अप्रिल) मा गठन भएको यो समितिको गत महिना सम्पन्न पहिलो बैठकले गैर आवासीय नेपाली नियात्रा संग्रह,गजल संग्रह र प्रवासमा रहेका नेपाली लेखक/साहित्यकारहरुको अभिलेखीकरण प्रकाशन गर्ने निर्णय गरेर काम गर्दै आएको छ। यी विषयमा पनि समितिको दोश्रो बैठकमा हालसम्म भएका उपलब्धि बारे समीक्षा र छलफल भएको थियो ।

बैठकमा विशेष आमन्त्रितका रुपमा सहभागी हुनुभएका समितिका वरिष्ठ सल्लाहकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानले बिदेशमा नेपाली भाषा र साहित्यको प्रबर्द्धन गर्न मिलेर जानूपर्नेमा जोड दिनु भयो ।
उहाँले प्रज्ञा प्रतिष्ठान संघले गर्ने सबै कार्यक्रमहरुलाई सहयोग गर्न तयार रहेको छ भन्नुभयो ।

त्यसैगरी, बैठकमा समितिका सल्लाहकार एब संघका पूर्व अध्यक्ष जीवा लामिछानेले सन २०१३ मा संघ र प्रज्ञा प्रतिष्ठानबीच भएको सहमति अनुसार प्रवासमा नेपाली साहित्यको प्रबर्द्धन गर्न कार्य अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । बैठकमा समितिका सल्लाहकार रमेश पौडेल ( नेपाल ), सह अध्यक्षहरु महेश्वर पन्त (अमेरिका), हरि पौडेल ( युरोप ), बेलु काजी थापा ( एशिया ) र निश्चल पि एस लिम्बू ( मध्यपुर्व) को उपस्थिति रहेको थियो ।

त्यसैगरी सदस्यहरु गौतम दाहाल (अमेरिका) , तिर्थ सङ्गम राई ( कतार), नृपेश उप्रेती (बेलायत) र कृष्ण कुसुम (अमेरिका) को सहभागिता रहेको थियो । बैठकको संचालन सदस्य सचिव भगवती बस्नेतले गर्नु भएको थियो ।