साउदीमा २६ सय संक्रमित उपचारपछि निको

0
60

साउदी, सोमबार, १५ असार २०७७ । साउदी अरेबियामा आइतबार २ हजार ६२७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । उक्त संख्यामा निको भएको यहाँ दैनिक पत्रकार सम्मेलन गरी साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले जानकारी दिएको हो ।

प्रवक्ता डा. अब्दुलीका अनुसार हालसम्म एक लाख २४ हजार ७५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । त्यसैगरी आज साउदीमा ३ हजार ९८९ जना कोरोना नयाँ संक्रमित थपिएको प्रवक्ता डा. अब्दुलीले बताए । उनका अनुसार साउदीभर कोरोना भाइरस (कोभिड-१९) संक्रमित हुनेको संख्या एक लाख ८२ हजार ४९३ पुगेका छन् । साउदीका विभिन्न अस्पतालहरुमा ५६ हजार १८७ जना कोरोना बिरामीको बिशेष उपचार भइरहेको डा. अब्दुलीले जानकारी दिए ।

आइतबारको अपडेटअनुसार कोरोना उपचारपछि निको हुनेको संख्याभन्दा नयाँ संक्रमित १ हजार ३६२ बढी छन् ।

यहाँ कोरोना भाइरसको उपचार गरिरहेका ४० जनाले आज ज्यान गुमाएका छन् । साउदीभर कुल मृत्यु हुनेको संख्या १ हजार ५५१ जना पुगेको डा. अब्दुलीले जानकारी दिए । उनका अनुसार विभिन्न अस्पतालमा कोरोनाको उपचार गरिरहेकामध्ये २ हजार २७७ जना गम्भीर अवस्था रहेका छन् ।

हालसम्म साउदीको राजधानी रियादमा सबैभन्दा धेरै कोरोना संक्रमित ११ हजार २८४ पुगेका छन् । त्यस्तै यहाँको ठुला शहरहरु मक्कामा ५ हजार ३८५, दमाम ५ हजार ३००, जेद्दा ३ हजार ९३०, अल कातिफ ३ हजार ५०, खोबार २ हजार ५८०, हफुफ ३ हजार १०, तैफ २ हजार १५९, मदिना १ हजार ८५७, खमिस मुसायत १ हजार ६७५, अल मुबराज १ हजार ३३३, दहराइन १ हजार १३७ र आभामा १ हजार ८६ जना रहेका छन् । अन्य शहरहरुमा भने कोरोना संक्रमित हजारभन्दा तल रहेको जनाइएको छ ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

साउदीमा हालसम्म १ हजार ३६४ जना नेपाली कोरोना संक्रमित भएको नेपाली दूतावासले जानकारी दिए । दूतावासका अनुसार कोरोना संक्रमित उपचारपछि निको संख्या उत्साह जनक रहेका छन् । त्यस्तै कोरोना उपचारका क्रममा एक दर्जनभन्दा धेरै जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी साउदी सरकारले कोरोना भाइरस कारणले बहिर्गमन भीसा ( देश छोड्न अनुमति) पुनः प्रवेश भिसा (Re-entry Visa) भिजिट र पर्यटक भिसा लिएकाहरुले स्वदेश फर्न चाहेमा शुल्क नलाग्ने साउदी सरकारले बताइएको छ । साउदी सरकारका अनुसार भिसाको म्याद समाप्त भएकाहरुले समेत शुल्क वा जरिवाना नतिरी जान सक्नेछन् ।