आममाफी कार्यक्रममा सहभागीलाई कुवेतबाट १२ उडान

0
45

काठमाडौं, सोमबार, १५ असार २०७७ । आममाफी कार्यक्रममा सहभागी नेपालीहरूलाई कुवेत सरकारले स्वदेश फिर्ता गरेको छ । कुवेतका विभिन्न क्याम्पमा रहेका नेपालीहरूलाई त्यहाँको सरकारले निःशुल्क पठाएको हो ।

दैनिक जसो भइरहेको उद्धार उडान अन्तर्गत जजिरा एयरवेजको सोमबार १२ औं उडानमार्फत् उनीहरू नेपाल आएका हुन् । सोमाबर भएको उडानबाट १६० जना नेपाली स्वदेश फर्किएका छन् ।

उक्त एयरवेजको अर्को उडान जुन ३० का दिन पनि हुने दूतावासले एक विज्ञप्तिमार्फत् जनाएको छ । साथै, दूतावासले सम्भव भएसम्म प्रत्येक दिन उडान सञ्चालन गरी यथाशीघ्र क्याम्पमा रहेका नेपालीलाई स्वदेश फिर्ता गराउने जानकारी दिएको छ ।

आममाफी कार्यक्रममा सहभागी हुने बाहेकका र कोभिड–१९ का कारण विभिन्न समस्यामा परी शीघ्र स्वदेश फिर्ती हुन दूतावासमा नाम टिपाएकाहरूलाई पनि प्राथमिकतामा राखी उडान संख्या बढाएर सकेसम्म छिटो स्वदेश फर्काउने दूतावासले जनाएको छ ।

साथै, सोमबार राति नेपाल एयरलाइन्सको एक चार्टर्ड विमान कुवेत जाँदै छ । त्यसपछि पनि तुरुन्तै अन्य उडानहरू सञ्चालन हुने गरी कारबाही अघि बढिसकेको कुवेतमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।