गिनिज बुकमा गोरखाकी फुन्जोले नाम लेखाउन सफल

0
121

गोरखा, मंगलबार, ६ साउन २०७७ । सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रुपमा गोरखाकी फुञ्जो झाङ्मु लामाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएकी छन् । ८,८४८ मिटर अग्लो हिमाल ३९ घण्टा छ मिनेटमा आरोहण गरेर गिनिजबुकमा नाम लेखाएकी हुन् ।

उनले १५ मे २०१८ को दिउसो ३ः२० मा बेसक्याम्पबाट आरोहण सुरु गरी १७ मे २०१८ को बिहान ६ः२६ मा शिखर चुमेकी थिइन् ।

गिनिजबुक अफ वल्र्ड रेकर्डको प्रतिनिधिले यसबारे आज(सोमबार) आफूलाई खबर गरेको फुञ्जोले जानकारी दिइन् । ‘गिनिज बुकले आज मलाई खबर गरेको हो’, उनले भनिन्, ‘कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण प्रमाणपत्र दिने काम पछि गर्ने भनेको छ ।’

उनी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ७ छेकम्पारकी हुन् । उनले यसअघि आठ हजार मिटर भन्दा अग्लो मनास्लु हिमाल, चोयु, आमादव्लम, अमेरिकाको डेनली, मनाङको पिसाङलगायत हिमाल आरोहण गरेकी छिन् ।

सगरमाथा आरोही फुञ्जो नेपालकै पहिलो महिला स्की च्याम्पिएन तथा पहिलो महिला लङलाइन रेस्कूअर हुन् ।