निष्कर्षविहीन टुंगियो ओली-प्रचण्डको छलफल, मन्‍त्रिपरिषद् पुनर्गठनबारे अन्योल

0
88

काठमाडौँ, सोमबार, १२ असोज २०७७ । सत्तारूढ दल नेपाल कम्युनिस्ट (पार्टी) नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्ता सकिएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच करिब ३ घण्टा लामो छलफल भएको थियो । आजको भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको स्राेतले बताएको छ । तर, निष्कर्षमा भने अझै पुगेको छैन ।

६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा सरकारको आवश्यकता अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय भएको थियो । सोहीअनुसार मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिइएको थियो ।

त्यसयता बिहीबार, शुक्रबार र आइतबार दुई अध्यक्षबीच छलफल भएको छ ।