सन्दर्भ : विश्व मुुटुरोग दिवस : अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण

0
64

काठमाडौँ, मंगलबार, १३ असोज २०७७ । अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुुटुुरोगीका समस्या झनै थपिएका छन् ।

मानिस आफ्नो स्वास्थ्यलाई भन्दा खानपानले गर्दा मुटुरोगको सिकार हुने गरेका छन् । स्वस्थ व्यक्तिले पनि मीठो, मसालेदार, चिल्लो, स्वादिलो खाना निरन्तर रूपमा खाँदै जाँदा विस्तारै नसर्ने रोगको सिकार हुने गरेका छन् । नसर्ने रोगमध्ये प्रमुख रूपमा मुटुरोग पर्दै आएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मानिसको आहार, व्यवहारले मुटुरोगको जोखिम बढाउने बताउनुभयो । चुरोट, खैनी, गुट्खा जस्ता पदार्थ नियमित सेवन गर्नाले मुटु रोगको सम्भावना बढाउने जानकारी दिँदै उहाँले यी वस्तुमा हुने निकोटिनले मुटुका धमनीलाई साँघुरो बनाउने र विस्तारै मुटुसम्बन्धी रोग लाग्ने बताउनुभयो ।

रक्तचाप बढ्नु खतरा

अस्वस्थकर खानपान तथा चुरोट बिँडीजस्ता पदार्थ नियमित सेवन गर्नाले मुटुलाई बढी बल परेर रक्तचाप बढ्न जाने उहाँले बताउनुभयो । अत्यधिक खानपिन र शारीरिक निष्क्रियताबाट विश्वका एक अर्ब मानिस बोसोका कारण ‘ओभरवेट’ समस्यामा परेको अनुमान छ । सामान्यतया एक जना स्वस्थ मानिसको बडी मास इन्डेक्स (आईबीएम) १८.५ देखि २४.५ बीचमा हुनुपर्छ । योभन्दा बढी उचाइ र मोटाइमा आधारित शारीरिक नाप वा ३५ इन्चभन्दा मोटो कम्मर भएका महिला र ३४ इन्चभन्दा बढी कम्मर भएका पुरुषलाई ‘ओभरवेट’ मानिन्छ । ‘ओभरवेट’ महिला–पुरुष रक्तचाप र मधुमेह रोगको जोखिममा हुन्छन् ।

डा. रेग्मीले शारीरिक श्रम नगर्नेले व्यायामबाट मुटुरोगको जोखिम घटाउन सक्ने बताउनुभयो । व्यायामले कोलस्टेरोललाई सन्तुलनमा राख्नका साथै रक्तचाप, सुगर र स्ट्रेसलाई पनि नियन्त्रित गर्ने भन्दै यसबाट फाइदा हुने उहाँले बताउनुभयो । मुटुसम्बन्धी कुनै पनि रोग गम्भीर स्वास्थ्य अवस्था भएकाले त्यसलाई बेवास्ता गर्दा घातक परिणाम निम्तिन सक्ने बताउँदै उहाँले आफूलाई रक्तचाप, हाई कोलस्टेरोल, मधुमेह वा अन्य किसिमका समस्या भएको जस्तो लाग्नासाथ चिकित्सककहाँ गई उपचार गर्नुपर्ने बताउनुभयो ।

आउन छाडे बिरामी

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले कोरोनाका कारण मुटुरोगी समस्यामा परेको बताउनुभयो । अस्पतालमा आउने बिरामीको सङ्ख्या घटेको भन्दै शल्यक्रिया गर्नुपर्ने बिरामी समेत कोरोनाका डरले अस्पताल आउन छाडेको बताउँदै उहाँले नसर्ने रोगमध्ये १८ प्रतिशत मुटुरोगको कारणले मृत्यु हुने बताउनुभयो ।
मुटुलाई कोरोनाले मात्र नभई अन्य सङ्क्रमणले पनि गाह्रो बनाउने भन्दै उहाँले बालबालिकादेखि वृद्धसम्मलाई मुटुरोगको समस्या देखिने बताउनुभयो । नेपालमा पछिल्लो समय जन्मजात मुटुको भल्ब बिग्रने समस्याले विकराल रूप देखिने गरेको उहाँले बताउनुभयो । हृदयाघातको लक्षणमा छातीमा असजिलो र पीडा हुने, असजिलो बढ्दै गएर हुने पीडा आरामले बस्दा पनि नघट्ने, त्यस्तो बेला छातीबीचको अघिल्लो हड्डी, पाखुरा, घाँटी र ढाडमा पनि असजिलोका साथै ढुकढुकी अनियमित हुने, पसिना आउने, वाकवाकी र बाडुली पनि लाग्ने हुन्छ ।

सरकारी सुविधा

यस्तै सरकारले मुटुरोगीलाई एक लाख रुपियाँ औषधि उपचारबापत बेहोर्दै आएको छ । १५ वर्षभन्दा मुनिका बालबालिका तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रिया निःशुल्क रूपमा गरिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोभास्कुलर सेन्टर लगायतका सरकारी स्वास्थ्य संस्थामा १५ वर्षभन्दा कम र ७५ वर्ष उमेरभन्दा माथिका वृद्धको निःशुल्क उपचार हुने गरेको छ ।

मुटुको भल्ब बिग्रिएको रोगको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । मुटुको भल्ब फेर्नुपर्ने व्यक्तिलाई पनि भल्ब निःशुल्क उपलब्ध गराउँदै आएको छ । मुटुको भल्बमा उमेरको छेकबार लाग्दैन । त्योबाहेक अरू कारणले बिग्रेको छ भने सरकारले सहयोग गर्दैन । यस्तै बाइपास अपरेसनमा पनि सरकारी सुविधा छैन ।

विश्वमा बर्सेनि एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गर्दछन् । यसमध्ये विकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा करिब ७५ लाख मुटुरोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्क मानिसलाई उच्च रक्तचाप छ, २० प्रतिशतलाई कोलस्टेरोल, १० प्रतिशतलाई मधुमेह रहेको छ ।

त्यस्तै एक प्रतिशत बालबालिकालाई बाथमुटु रोग छ । बर्सेनि एक हजार बालबालिका बाथ–मुटुरोगका कारण मर्ने गर्दछन् । चुरोट, सुर्ती सेवन गर्ने ४० प्रतिशत रहेका छन् । यसैबीच विश्व मुटु महासङ्घको आह्वानमा विश्वभरि ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदैछ । मुटुसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।