मेस्सी र फातीले १० खेलाडीमा सिमित बार्सिलोनालाई जिताए

0
135

काठमाडौँ, शुक्रबार, १६ असोज २०७७ । दश खेलाडीमा सिमित बार्सिलोनाले कप्तान लियोनल मेस्सीको उत्कृष्ट खेल प्रदर्शन र युवा खेलाडी अन्सु फातीको गोल मदतमा सेल्टा भिगोविरुद्व ३-० को जित दर्ता गरेको छ ।

सेल्टाको घरेलु मैदान म्युनिसिपल दे बलदोसमा भएको खेलमा अन्सु फातीले पहिलो गोल खेलको पहिलो हाफको ११ औँ मिनेटमा गरे भने दोस्रो गोल खेलको दोस्रो हाफको ५१ औँ मिनेटमा सेल्टाका लुकास ओलजाले उपहार स्वरुप दिएका थिए भने अन्तिम गोल सर्जी रोबर्टोले ९५ औँ मिनेटमा गरेका थिए ।

फातीले फिलिपे कोटिन्होको पासमा पहिलो गोल गरेका थिए। त्यस्तै, ओलजाले उपहार स्वरुप दिएको दोस्रो गोल भने मेस्सीले गरेको एकल गोल प्रयासको प्रहार डिफ्लेक्ट हुँदा भएको थियो ।

खेलको पहिलो हाफको ४२ औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित भयो। दोहोरो पहेलों कार्ड खाएपछि उसले आफ्नो भरपर्दो खेलाडी क्लेमेन्ट लेङलेटलाई गुमायो ।

गत वर्ष किर्तिमानी डेब्यु गरेका फातीले ला लिगामा आफ्नो कुल गोल संख्या १० पुर्याएका छन्। उनले यो सिजन २ खेल खेल्दा ३ गोल गरिसकेका छन् ।

नयाँ म्यानेजर रोनाल्ड कुम्यानले क्लब सम्हालेपछि लिगमा लगातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट सुरुवात गरेका छन् । गत सिजन निक्कै खराब प्रदर्शन गरेको बार्सिलोनालाई कुम्यानले नयाँ आशा देखाएका छन् ।