जापानमा रहेका नेपालीहरुबीच अत्यन्तै चर्चामा रहेको प्रान्स गोल्ड होल्डीङ् नामक क्रिप्टोकरेन्सी कारोबार गर्ने भनिएको कम्पनीमा समस्या

0
910

जापान, शुक्रबार, ३० असोज २०७७ । पछिल्ला दिन जापानमा रहेका नेपालीहरुबीच अत्यन्तै चर्चामा रहेको प्रान्स गोल्ड होल्डीङ् नामक क्रिप्टोकरेन्सी कारोबार गर्ने भनिएको कम्पनीमा समस्या आएको बुझिएको छ ।

 

सुरुमा जापानमा रहेका केहि सिमित नेपालीहरुले मात्रै लगानी गरेको भनिएको प्रान्स गोल्ड होल्डिंग्समा पछिल्ला दिन भित्र भित्रै झण्डै २ हजार नेपालीहरुले लगानी गरिसकेको बताईन्छ । बिहिबार राती एक ठूला लगानी कर्ता भनिने नेपाली युवाले भने-‘ शंका त पहिले देखिनै थियो तै पनि एकपटक जम्मा भएको डलर निकाल्न पाए, आफ्नो लगानी उठेर पनि फाईदा हुने थियो भनेर वैट गरेको, आज पनि निकाल्न मिलेन,बरु कारोबार नै होल्ड भएको खबर फैलियो ।’

न्युनतम १ लाख जापानी येनबाट सुरु गर्न सकिने प्रान्स गोल्ड वास्तवमा क्रिप्टोकरेन्सी ट्रेडिङ् भनिएता पनि लगानी कर्तालाई त्यहाँ किनबेच बारे सरोकार नै थिएन । यो पूर्णत नेटवर्किंग प्रणालीमा संचालित थियो ।

कम्पनीले एटोमेटिक अर्विटेरेज सिस्टम बनाएको दावी गर्दै आएको थियो । जानेका बुझेकाहरुले सोधीखोजी गर्दा पनि तर्किने लगानी कर्ताहरु विहिबार देखि भने स्वतस्फुर्तरुपमा लगानी डुब्ने भयो भन्दै सम्पर्क आउन थालेका छन् ।

कारण के हो त ?
यस अघि पनि रकम निकाल्ने मिठो सपना बोकेकाहरुले निकाल्न पाएका थिएनन् तर त्यस्को वास्तविक कारण बाहिर आएको थिएन (नेटवर्किंग विजनेसमा सकभर गोप्य राख्ने प्रयास गर्दछन्) तर, बिहिबार लगानी कर्ताहरुकै सामाजिक संजाल ग्रुपबाट एक विज्ञप्ती बाहिरियो, जहाँ कम्पनीका कार्यकारी भनिएको व्यक्तिको हस्ताक्षर सहित तत्काललाई कारोबार होल्ड भएको, र यो समस्या सन २०२१ को सुरुवातसम्ममा समाधान हुनेमा आशावादी रहेको व्यहोरा उल्लेख गरिएको छ ।

साँच्चै प्रान्स गोल्डले डुबाएकै हो त ?
प्रान्स गोल्ड होल्डिंग्स भनिने यो कम्पनीको सुरुवातदेखि नै नियत भने सत्य देखिदैन । किनकि कम्पनीको वेवसाईट छ,र त्यस वेवसाईटमा राखिएको ठेगाना नै वास्तविक छैन । यो ठेगानामा तपाई आफै पनि हेर्न सक्नु हुनेछ ।

भनिएको ठेगाना यहि हो, जहाँ सम्पर्क नम्बर छैन । यद्यपी भनिएको बिल्डिंगमा त्यो नामको कम्पनी नरहेको बुझिन आएको छ ।

यदि साँच्चै डुब्यो भने के हुन्छ त ?
लगानी कर्ताहरुको अरबौँ रकम डुब्छ । किनकि त्यो कम्पनीको कानुनी उपचारमा जान सकिने कुनै आधार छैन । लगानी कर्ताहरुले गर्न सक्ने भनेको आफुलाई त्यो व्यवसायमा लगानी गर्न प्रेरित गर्ने व्यक्तिलाई अनुनय विनय गर्न सक्छन् तर उनिहरु पनि अन्त्यमा जानुपर्ने कम्पनीमा नै हो तर कम्पनी नै झुटो देखिन्छ ।

ढिलो चाँडो यस प्रकारको व्यवसायको यस्तै नकारात्मक अन्त्य निश्चित छ तर यति चाँडै यो अन्त्य भएमा धेरै नेपालीहरुले जापानमा दुख गरेर कमाएको करोडौँ येन डुबाउने छन् ।

(स्रोत : अफिसको फोटोहरु विष्णु सुवेदीको सामाजिक संजालबाट,अन्य जानकारी लगानी कर्ता तथा कम्पनीकै वेबसाईटबाट)